बझाङ दुर्घटना : मन्त्री सिंहकी पत्नी र भाउजूको निधन

काठमाडौं, असार ३ । बझाङमा भएको सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहका पत्नी र उनकी भाउजुको मृत्यु भएको छ।

मन्त्री पत्नी ५० वर्षीया अमृता सिंह र भाउजू ६० वर्षीया जयादेवी सिंह प्राथमिक स्वास्थ्य केन्द्र देउरामा मृत्यु भएको केदारस्युँ गाउँपालिका–१ का अध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए।

गम्भीर घाइते कानुनमन्त्री सिंह, चालक ३५ वर्षीय धर्मराज जोशी र पीएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाईसहित तीन जनालाई उपचारका लागि हेलिकोप्टरमार्फत बाँकेको कोहलपुर लगिएको छ।

मंगलबार दिउँसो बझाङको केदारस्यु गाउँपालिका-१ झारछडा स्थित जयपृथ्वी राजमार्गमा मन्त्री सवार गाडी दुर्घटनामा परेको थियो।

डडेल्धुराबाट चैनपुर बझाङतर्फ आउँदै गरेको सु.प. प्र. ०१००१ झ ४८० नम्बरको गाडीमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ५ जना सवार थिए।

गाडी सडकबाट करिब ५० मिटर तल कालङ्गा नदी किनारमा खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया दिनुहोस्