मोर्चाबाहिरबाट सरकार बन्न कठिन, छुटे बाबुराम
काठमाडौं , असार ५ । नेकपा माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।
लगतै नेताहरुले हालेमालो गरेर खुसी साटे । सहमतिअनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।
चार पार्टीको मोर्चा निर्माणपछि नेपाली राजनिितमा सत्ता राजनीतिको एक खालको सिन देखिएको छ । अब कांग्रेस र एमालेलाई छुट्टाछुट्टै सरकार बनाउन यो मोर्चा बाहिरबाट संसदीष्य अंकगणित पुग्दैन ।
मोर्चा बनेकाले अब संसदभित्र एउटै निर्णयको पक्षमा ५४ सांसद हुनेछन् । संसदमा माओवादी केन्द्रसँग ३२, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट छ । ८८ सिटको कांग्रेस असहले सत्तामा छ । ७९ सिटको एमाले सत्ता बाहिर छ । दुवै दल मिले सहजै सरकार बन्छ । एक्लाएक्लै सरकार बनाउन सक्दैनन् । समीकरणमा सरकार बनाउन मोर्चा अपरिहार्य हुने भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतको अनुभवबाट सिकेर मोर्चा घोष्णा गरिएको बताए । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आज समाजवादी मोर्चा भनेर घोषणा गरेका छौं, यो हिजोको अनुभवको पनि नयाँ संस्केलण भएको छ । अब हाम्रो सफलतालाई कसैलाई रोक्न सक्दैन ।’
माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले २०७४ मा एमाले र माओवादीबीच पार्टी एकता घोषणा गरेको स्मरण गरे । राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए । त्यो बेला कहाँ त्रुटि भयो भनेर समीक्षा गर्नुपर्ने भन्दै उनले भने, ‘शायद त्यतिबेला पार्टी एकतै गर्ने हतारो पो गरेछौं कि ?’
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा स्वार्थमा नबनेको बताए । अध्यक्ष नेपालले प्रतिगमन र यथास्थितिविरुद्ध एकतावद्ध हुन मोर्चाबन्दी गरेको बताए । उनले अगाडि भने, ‘यो कसैलाई तर्साउन पनि होइन, कसैको मुकाबिला गर्न पनि होइन । ढुक्क हुनुस् ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउन र एमालेको मुकाबिला गर्न मोर्चा बनाउन लागेको टिप्पणी गरेका थिए । आफ्नै पार्टीका नेताहरुलाई पनि मोर्चामा आवद्ध भएका दलहरु एकअर्कामा बिलय हुने त होइन भन्ने परेको भन्दै एकीकृत समाजवादी अध्यक्ष नेपालले भने, ‘कसैले निल्ने वाला छैन, हामी निलिने बाला पनि छैनौं ।’
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समाजवादी मोर्चाबाट कोही तर्सिन जरुरी नभएको बताउँछन् । समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यो मोर्चा कसैको विरुद्धमा लक्षित छैन, कोही नतर्सिए हुन्छ, केही साथीहरु घोषणा गर्नुअघि नै बडबडाउन थाल्नुभएको थियो, त्यसरी बडबडाउनु पर्दैन ।’
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड र प्रयोग भएको बताए । समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले ‘हाम्रा जनतामाथि अत्याचार मच्चिरहेको छ । नागरिकमा छटपटी छ । युवा शक्ति, निराशा र आशाको दोधारमा छ । अग्रगमन र पश्चगमनको लडाईंमा नेपाल उभिरहेको छ ।’
छुटे बाबुराम
समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई परेनन् । निरन्तरको संवादले समेत उनलाई चार दल सम्मिलित समाजवादी मोर्चामा सहभागी गराउन सकेन् ।
मोर्चामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । तर, निरन्तर समाजवादी मोर्चा बनाउने भनी सार्वजनिक रुपमा वकालत गर्दै आएका डा.बाबुराम छुटेका छन् ।
प्रधानमन्त्री प्रचण्डले उपेन्द्र र बाबुराम दुबैलाई समेट्ने प्रयास गरेका थिए । अन्तिममा उपेन्द्र र बाबुराममध्ये एक रोज्नुपर्ने अवस्था आएपछि प्रचण्डले उपेन्द्रलाई रोजे । उपेन्द्र नेतृत्वको जसपाको संसद् सङ्ख्या १२ जना र बाबुरामको एक सिट पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचित भएकाले उपेन्द्र रोजाइमा परेका हुन् ।
नेसपाका नेता गंगानारायण श्रेष्ठ आफूहरूलाई मोर्चामा नसमेट्नु दुःखद भएको बताउँछन् । उनी भन्छन्, ‘समाजवादी मोर्चा बनाउन बाबुराम सर लाग्नुभयो । उहाँलाई मोर्चामा समेट्न कतिपय तगारो बन्नुभयो’ श्रेष्ठले भने, ‘फुल पार्ने कोइली अण्डा कोरल्ने काग जस्तै हुन पुग्यो । निषेधको राजनीति बुझि नसक्नुभयो ।’- मध्यान्हबाट
प्रतिक्रिया दिनुहोस्