बाढी–पहिरो प्रभावित क्षेत्रको लगत संकलन गरी राहत र क्षतिपूति दिन समितिको निर्देशन

काठमाडौं , असार ४ । संसदीय समितिले हालै बाढि र पहिरोबाट प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकले बाढीपहिरोमा परि वेपत्ता भएकाको खोजी कार्यलाई तीव्रता दिन र प्रभावित क्षेत्रको लगत संकलन गरि आवश्यक राहत र क्षतिपूर्ति उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले बाढि र पहिरोका कारण अवरुद्ध सडकखण्ड सूचारु गर्नका लागि मर्मतसम्भारलाई अघि बढाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रभावित क्षेत्रमा सेना, सशस्त्र र प्रहरी पुगेर उद्धार कार्य गरेको र अवरुद्ध सडकहरु पनि खुलाउने प्रयास भइरहेको जानकारी दिए ।

त्यस्तै मन्त्री ज्वालाले आफ्नो मन्त्रालयगत बजेटका बारेमा जानकारी दिदै मुख्य सडकहरु निर्माणका लागि बजेट नघटाएको दावी गरे । उनले आयोजनाहरुलाई छिटो काम गर्नका लागि कार्ययोजना बनाएर जाने र विना तयारीका आयोजनाहरुको मन्त्रालयबाट टेन्डर नहुने स्पष्ट पारे । उनले तयारी भएका योजनाहरु आर्थिक बर्ष सुरु हुने बितिकै सुरु गर्ने र जेष्ठ मसान्तसम्म कार्यसम्पन्न गर्ने गरि कार्ययोजना बनाउने बताए ।

बैठकमा सांसदहरुले विना अध्ययन महत्वपूर्ण आयोजनाहरुको बजेट घटाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद प्रदीप पौडेलले पूर्वाधार क्षेत्रका बजेट कटौति गरेर प्राथमिकतामा नराखेको हो की भन्ने आभाष भएको बताए । उनले पूँजिगत खर्च नै कम भएको थाहा भएको भए त्यही अनुसार नै योजना बनाउनुपर्ने धारणा राखे ।

त्यस्तै सांसद सिके राउतले पूर्वाधार अन्तर्गत छुट्टाइएको बजेटको बितरण समान हुन नसकेको बताए । उनले पहुँचका भरमा बजेट दिने कार्यले अन्य क्षेत्रमा अन्याय हुने उल्लेख गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले आगामी आर्थिक बर्षको बिनियोजित बजेटका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्