सेयर बजारप्रति सर्वसाधरणको आकर्षण, ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार

काठमाडौं, ३० जेष्ठ । सेयर बजारप्रति सर्व साधरणको आकर्षण बढेको छ । अधिकांश कम्पनीको सुचक हरियो देखिएको छ । सूचकमा आकर्षक वद्धि हुँदा दैनिक कारोबार रकममा पनि सुधार भइरहेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ । ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो । यसअघि गत जनवरी १८ मा नेप्सेमा ४ अर्ब ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता भने कारोबार रकमले ४ अर्ब क्रस गर्न सकेको थिएन । यस दिन ३ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिंदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.१ विन्दुमा छ । यता, ट्रेजरी बिलको रेट पनि निकै तल आइसकेको छ । यी कारणहरुले तरलता सहज हुँदै गएको पुष्टि गर्दछ । तरलता सहज हुँदै जाँदा आगामी दिनमा निक्षेप र कर्जा दुवैतिरको ब्याजदर पनि थप घट्ने देखिएको छ ।

जानकारहरुका अनुसार तरलता सहज हुने र ब्याजदर घट्ने अवस्थामा सेयर बजार माथि जाने नै गर्छ ।यता, असारका लागि निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघले निर्णय गरेको छ । तर आधारदर घट्दै गएकाले कर्जाको ब्याजदर भने थप घट्ने गर्छ । यी सकारात्मक खबरहरुकै कारण सेयर बजारमा उत्साह देखिएको हो । यस्तै, बजार घटेको करिब २२ महिना भइसकेकाले पनि अब अब यसले आफ्नो प्रवृत्ति परिवर्तन गर्न लागेको भन्नेहरु पनि उत्तिकै छ । यद्यपि, बजार एकोहोरो हिसाबले चल्दैन । तलमाथि भइरहने प्रवृत्ति हुन्छ । तथापि, बियरिसको लामो चक्र पूरा गरेकाले अब औसत ट्रेन्ड बुल बाटोतिरै हुने विश्लेषकहरु बताउँछन् ।

यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिष्टिलरी र आइजीआई प्रुडेन्सियल इन्सुरेन्स परेका छन् ।

बजारमा वियरिस चक्र सकिएर विस्तारै बुल रनमा प्रवेशका लागि केही महत्वपूर्ण आधारहरु तय भएको जानकारहरु बताउँछन् । अर्थतन्त्रका बाह्य क्षेत्रहरुमा राम्रो सुधार हुँदै गएको छ । यसले पनि सेयर बजारमा सुधारका लागि थप मनोबल बढाउन सक्ने देखिन्छ । तर आम लगानीकर्ताले राम्रो वित्तीय अवस्था भएका, लाभांश दिन सक्ने कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ । अलि लामो समय होल्ड गर्न सक्ने हिसाबले मात्र सेयर खरिद गर्नुपर्ने, जोखिम बहन क्षमतमा ख्याल गर्न पनि अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्