प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विरुद्धको रिट सर्वोच्चमा दर्ता

काठमाडौं, २८ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पुर्वपधानमन्त्री डा.बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

सशस्त्र युद्ध कालका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

यसअघि पनि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ ।

उक्त रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ । रिटमा दुबै नेतालाई युद्ध अपराधमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउन माग गरिएको छ । यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने समेत उनको माग छ । आफूहरुलाई अयोग्य लडाकू भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ । यस अघि एक कार्यक्रममा भागि लिन विदेश जान लागेका बेला विष्टलाई त्रिभुवन आन्तराष्ट्रिय विमान स्थलमा रोकेका थिए । यो रोक्ने आदेश अध्यक्ष प्रचण्डले दिएको अरोप छ ।

प्रतिक्रिया दिनुहोस्