प्रचण्ड–बाबुरामबिरुद्धको युद्ध अपराधसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
पूर्व बाल सैनिक लेनिन बिष्टसहित नौं जनाले दिएको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । उक्त रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले माओवादी युद्धका अगुवा नेताहरु प्रचण्ड र भट्टराईलाई युद्ध अपराधमा कारबाहीको माग गर्दै लेनिन बिष्टसहित नौं जनाले दिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो ।
निवेदकहरूले हाल प्रधानमन्त्री समेत रहेका दाहाल र माओवादी छाडेका भट्टराईले आफूहरुलाई अनाहकमा युद्धमा लगाएको दाबी गर्दै रिटमा कारबाहीको माग गरेका छन् । उनीहरुले अनमिनको वर्गीकरणका क्रममा आफूहरुलाई अयोग्य घोषित गरेर शोषण गरेको दाबी समेत गरेका छन् । रिटमा आफूहरुलाई परिपुरण, क्षतिपूर्ति र न्याय दिलाई भराई पाउन विपक्षीहरुका नाममा परमादेश जारी गर्न समेत माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्