कर्णाली प्रदेशको सूचना व्यवस्थापन प्रणालीले प्रमाणमा आधारित विकास कार्यक्रममा सघाउ पुर्याउने

 

२२ जेठ २०८०, सुर्खेत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले आयोजना सूचना व्यवस्थापन प्रणाली मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेशलाई आज हस्तान्तरण गरेको छ । भौगोलिक सूचना प्रणालीमा आधारित उक्त प्रणाली (https://projects.karnali.gov.np/) युएनडीपीद्वारा कार्यान्वयन गरिएको युरोपेली संघ समावेशी संघीयता सहयोग परियोजना (European Union Support to Inclusive Federalism) को प्राविधिक सहयोगमा तयार पारिएको हो ।

दातृ निकायहरुको सहयोगमा कर्णाली प्रदेशमा संचालित परियोजनाहरुको भौगोलिक अवस्थिति, बिषयगत क्षेत्र तथा बजेटको आकार जस्ता सूचनाहरु यस डिजिटल प्लेटफर्ममा समावेश छन् । आयोजना सूचना व्यवस्थापन प्रणाली संचालन निर्देशिका, २०७९ अनुसार कर्णाली प्रदेश योजना आयोगले यस प्रणालीको संचालन र व्यवस्थापन गर्नेछ ।

यो प्रणाली सरकार, दातृ निकायहरु र अन्य सरोकारवालाहरूलाई प्रमाणमा आधारित योजना तर्जुमा, समन्वय र नीति परिमार्जन गर्न सघाउने उद्देश्यले तयार गरिएको हो । यसले उपलब्ध स्रोतहरूको प्रभावकारी उपयोग गर्न तथा अनुगमन र समन्वयको कामलाई सबल पार्न प्रदेश सरकारलाई मद्दत गर्न सक्दछ । २२ जेठ २०८० सम्म यस प्रणालीमा, करिब 145.3 मिलियन अमेरिकी डलर बराबरका 17 वटा दिगो विकास लक्ष्यहरू (SDGs) मध्ये वटा 13 लक्ष्यहरूमा काम गर्ने ५४ वटा परियोजनाहरूका विवरण छन् ।

“आयोजना सूचना व्यवस्थापन प्रणालीले दातृनिकायहरुको सहयोगमा कर्णालीमा संचालित परियोजनाहरूका सूचनाहरु व्यवस्थित गर्दछ । यसले सरकार र विकास साझेदारहरूको लागि प्राथमिकताहरू निर्धारण गर्न र स्रोतको दोहोरोपन हटाउन मद्दत गर्दछ । यस प्रणालीलाई थप सबल पार्दै सरकारद्वारा संचालित आयोजनाहरु पनि यसमा समावेश गर्ने प्रदेश सरकारको योजना रहेको छ,” मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव आनन्द सारुले भन्नु भयो ।

“समावेशी र दिगो विकासका कार्यक्रमहरुका लागि विश्वसनीय तथ्यांकको ठूलो महत्व हुन्छ । योजना सूचना व्यवस्थापन प्रणाली यो आवश्यकता पुरा गर्न प्रभावकारी प्लेटफर्म हुन सक्छ,” संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय उप-प्रतिनिधि बर्नार्डो कोकोले बताउनु भयो ।

यो डिजिटल प्रणाली हाल कर्णालीमा कार्यान्वनमा रहेको संघीयता सहयोग परियोजना अन्तर्गत विकास गरिएको हो । युरोपेली संघ र युएनडीपीले संघीयता कार्यान्वयनमा कर्णालीमा सहयोग पुर्याइरहेका छन्, जसमा नेपाल सरकारको ‘प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम’ (Provincial and Local Governance Support Programme) को पुरकको रुपमा प्रदेश तथा स्थानीय सरकारका प्रणाली र प्रक्रियाहरूमा समावेशीता, जवाफदेहिता र दिगोपन अभिवृद्धि गर्ने कार्यहरु पर्दछन्  ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्