उच्चपदस्थको भ्रमण : सधैं कूटनीतिक मर्यादाको उल्लंघन
काठमाडौं, जेठ २३ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादा उल्लंघन भएको भन्दै सडकदेखि सदनमा समेत विरोध भएको छ । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रका अधिकारीलाई राख्नुपर्ने स्थानमा छोरी गंगा दाहाललाई राखेको र प्रधानमन्त्रीलाई नभेटी सचिव र सुरक्षा सल्लाहकारलाई भेटेर अन्तराष्ट्रिय कूटनीति मर्यादाको उल्लंघन गरेको भन्दै विरोध भएको हो । सोमबार संवसद बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छोरी फर्स्ट लेडी नहुने टिप्पणी गरेका हुन् ।
‘प्रधानमन्त्रीको भ्रमणमा प्रोटोकल भद्रगोल भयो, छोरी फर्स्ट लेडी हुँदैनन्, प्रोटोकल यस्तो भद्रगोल गर्न हुँदैन । वार्तामा परराष्ट्रमन्त्री, सचिव, शिष्टाचार महापाल, नोट मेकर हुनुपर्छ । परराष्ट्रमन्त्री कता छन् थाहा छैन, अर्थमन्त्री कता हुन्, नेताहरु कता हुन्, छोरीलाई सँगै राख्नुभएको छ । मन्त्री र सचिव छैनन्’ ओलीले भने । काठमाडौंमा हुने विदेशस्तरीय भेटमा समेत कूटनीतिक मर्यादाको पालना नगरि छोरीलाई अघि सार्ने प्रचण्डले भारत भ्रमणमा पनि सोही कार्य दोहोर्याए । जबकी प्रचण्ड स्वयंले नै कूटनीतिक भेटघाटमा परराष्ट्रका कर्मचारी अनिवार्य हुनुपर्ने मापदण्ड बनाएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको आरम्भमा नै भारतीय सुरक्षा सल्लाहकार र सचिवस्तरका कर्मचारीहरूसँग वार्ता गरेर अन्तर्राष्ट्रिय कूटनीतिक अभ्यास र पदीय मर्यादाको उल्लंघन गर्नुभएको छ । प्रचण्ड समकक्षी प्रमसँग वार्ता गर्न जानुभएको हो कि भारतीय कर्मचारीसँग अफसोच, देशको झुकेको शीर !’ नेकपा एमालेका नेता डा. भीम रावलले प्रश्न गरेका छन् । सामान्य शिष्टाचारमा समेत प्रश्न उठ्ने गरी छोरी दाहाल हाबी हुँदा समेत परराष्ट्र मन्त्रालय यसमा निरीह बनेको छ ।
भारतमा हुने कतिपय भेटघाटले नेपालको राजनीतिलाई नै दूरगामी प्रभाव पारेका दृष्टान्त छन् । प्रधानमन्त्री प्रचण्डको मात्रै होईन, राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री केपी ओली र विभिन्न समयमा भएका भीआइपीको भ्रमणमा कूटनीतिक मर्यादाको उल्लंघन हुँदै आएको छ । कहिले लगाउने विषयमा, त कहिले खाने विषयमा र कतिपय अवस्थामा भेटघाट समेत प्रोटोकल नमिलाई हुँदै आएको छ । पूर्वराष्ट्रपति विद्या भण्डारी विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएका बेला उक्त देशको भ्रमण गरेको भन्दै आलोचना भएको थियो ।
त्यस्तै, प्रधानमन्त्री रहेका समयमा भारतीय गुप्तचर संस्थाका अधिकारीसँग घण्टौँ वार्ता गरेर केपी ओलीले कूटनीतिक मर्यादाको उल्लंघन गरेको विषयलाई लिएर पनि लामो समय आलोचना भएको थियो । तरपनि, नेपालका उच्चपदस्थहरु कूटनीतिक मर्यादा उल्लंघन हुने विषयमा सचेत नभई आलोचित हुने भ्रमण मात्रै गर्छन् । -मध्यान्हबाट
प्रतिक्रिया दिनुहोस्