प्रधानमन्त्री दाहालद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी
काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणमा भएका गतिविधिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री प्रचण्डले यही १७–२० जेठमा चारदिन भएको भारतको औपचारिक भ्रमणका विषयमा सदनलाई जानकारी गराएका हुन्।
भ्रमणका क्रममा जलविद्युत् परियोजनादेखि पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण तथा विस्तारबारे सहमति भएको जानकारी गराउँदै उनले सीमा विवाद समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए। उनले सातवटा दस्तावेजमा हस्ताक्षर भएको जानकारी गराए। रेलमार्गबाट पारवाहन सुरु गरिएको उनले बताए।
प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुराबारे नेपाली भूमि नै भएकाले आफूले यही कुरा भारतमा राखेको बताएका छन्। उनले सीमा समस्याबारे भारत सरकार र भारतका शक्तिशाली प्रधानमन्त्रीले पनि सीमा समस्या हल गर्नुपर्छ भनेको पनि बताए।
सम्बोधन गर्दै दाहालले सीमाबारे आफूले विकल्प नदिएको र कन्फ्युज नहुँन पनि आग्रह गरेका हुन्।
दाहालले भने, ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन। प्रष्ट होस्, कहीँ कोही कन्फुजन नहोस्।’
भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताए ।जमिन साटासाट गरेर सीमा समस्या समाधान गर्ने बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको बताए । ‘नेपालका केही विज्ञ, वुद्धिजिवीहरुले यस्ता पनि भनेका छन् मात्र भनेको छु,’ उनले भने, ‘बंगलादेश मोडल मेरो कुरा होइन ।’
प्रतिक्रिया दिनुहोस्