च्याम्पियन्स लिगमा रियल र टोटनह्याम भिड्दै

एजेन्सी । च्याम्पियन्स लिग समूह एच अन्तर्गत आज राति साविक विजेता रियल म्याड्रिड इङ्ग्लिस टोली टोटनह्यामको सामना गर्दै छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा खेलिने यस खेल नेपाली समय अनुसार रातिको १२.३० बजे सुरु हुने छ ।

समूह एचमा रियल म्याड्रिड र टोटनह्याम दुवै टोलीको दुई खेलमा दुई जितसहित ६ अंक रहेको छ । त्यस्तै आ–आफ्ना घरेलु लिगमा पनि दुवै टोलीले ८ खेलमा १७ अंक बटुल्दै तालिकाको तेस्रो स्थान ओगटिरहेका छन् । तर तुलनात्मक रुपमा बलियो रहेको रियल म्याड्रिडले चोटग्रस्त टोटनह्याम विरुद्ध अघिल्ला तीनै खेल आफ्नो पक्षमा पारेको छ ।

रियल म्याड्रिडका लागि पूर्व टोटनह्यामका खेलाडि ग्यारेथ बेल घाइते भएका कारण खेलमा सहभागी हुने छैनन् । गोलकिपर केलर नाभास र डिफेन्डर ड्यानियल कार्जाभाल पनि सामान्य चोटिल रहेका कारण नखेल्ने सम्भावना छ । नाभास स्वस्थ नभएको अवस्थामा पोस्टको जिम्मा किको क्यासिल्लाले सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्