नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर, मोदीले भने– नेपालसँगको सीमा समस्या समाधान गर्छौं

काठमाडौं, जेठ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात बुँदे सम्झौतामा हस्ताक्षर भएको जानकारी गराइएको हो।

पेट्रोलियम पाइपलाइन, तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतमा सम्झौता भएको हो ।

सुनौली–भैरहवा इन्टीग्रेटेड चेक पोष्टको सिलन्यास गरिएको छ। यस्तै, बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन भएको छ। अमलेखगञ्जदेखि चितवनको लोथलसम्म पेट्रोलियम पाईपलाइनको शिलन्यास, गोरखपुर–न्यू बुटवल चार सय केभी डबल सर्किट ट्रान्समीसन लाइन निर्माणको शिलन्यास, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्टलाई अघि बढाइने सम्झौता भएको छ।

भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुने समझदारी भएको छ।अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि समझदारी भएको छ।

त्यस्तै  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग रहेका सीमालगायत सबै समस्याको समाधान गर्ने बताएका छन्।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जतिकै उचाइ दिन काम गरिरहने बताए।

उनले भने, ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरु सबैको समाधान गर्छौं।’

पत्रकार सम्मेलनमा उनले नेपालसँगको सीमासहित सबै समस्या समाधान गर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्