प्रदेश प्रमुखले नीति तथा कार्यक्रम बोकेर ल्याइएको फाइल नै खाली भेटिएपछि …

काठमाडौं, जेठ १४ ।  वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न प्रदेश प्रमुखलाई उपलब्ध गराएको फाइल नै खाली भेटिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वाचन गर्न उपलब्ध गराएको फाइलमा नीति तथा कार्यक्रम नै नभेटिएपछि प्रदेशसभामा केहीबेर सबै अलमलमा परे । सांसदलाई वितरण गर्नका लागि प्रदेशसभामा ल्याइएको नीति तथा कार्यक्रम मुख्यमन्त्रीले प्रदेश प्रमुखलाई उपलब्ध गराएका थिए । मुख्यमन्त्री नीति तथा कार्यक्रम खोज्न हिँडेपछि केही समय सदनभित्र सांसदहरूबीच मुखामुखको अवस्था सिर्जना भएको थियो ।

आइतबार दिउँसो २ बजे बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख शर्माले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सूची रहेको थियो । मुख्यमन्त्री जम्कट्टेलले मानवीय कार्यमा गल्ती हुने भन्दै अवस्था सामान्य बनाउन खोजेका थिए । ‘यो सामान्य प्राविधिक त्रुटि भयो । यो हाम्रो व्यवस्थापकीय कमजोरी हो,’ उनले भने ।

प्रतिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीले सरकारले बिनातयारी नीति तथा कार्यक्रम ल्याउँदा भद्रगोलको अवस्था सिर्जना भएको भन्दै आपत्ति जनाएका थिए । ‘सरकारभित्रै समस्या छ भन्ने कुरा यही घटनाबाट प्रष्ट भएको छ । प्रदेश सरकार स्थापनादेखि हालसम्म सबैभन्दा कमजोर नीति तथा कार्यक्रम अहिले नै आएको छ,’ नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईंले भने ।

प्रतिक्रिया दिनुहोस्