संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं ,जेठ १२ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।

शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए । एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप लगाएको भन्दै बैठक अवरोध गरेपछि २० मिनेटका लागि संसद बैठक स्थगित भएको हो ।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध सुरु गरेका थिए ।

यसअघि प्रतिनिधि सभामा बोल्नु भएका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो ।

बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो‍।

प्रतिक्रिया दिनुहोस्