नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै भयो : गगन थापा

काठमाडौं, जेठ १० । नेपाली कांग्रेसका सांसद गगन थापाले नीति तथा कार्यक्रम सरकारको विज्ञापन गर्ने अस्त्र मात्रै बन्न थालेको बताएका छन् । उनले सरकारले नीति तथा कार्यक्रममा घोषणा गर्ने, तर त्यो कसका लागि ? केका लागि ल्याइएको भन्ने बारेमा अस्पष्ट हुने गर्दा समस्याको समाधान नहुने गरेको बताए ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रममा १८८ बुँदा छ, यसमा सरकारको इच्छा, छ, समीक्षा छ, योजना छ, कार्यक्रम पनि छ । सबै चिज छ, तर राम्ररी हेर्‍यो भने केही पनि छैन । पहिले नीति तथा कार्यक्रममा छोटो हुन्थ्यो, अहिले लामो आउँछ । समयक्रममा यसलाई हामीले सरकारको विज्ञापन गर्ने अस्त्र बनाएका छौँ ।’

उनले सरकारले उद्देश्यअनुसारका नीति र कार्यक्रमहरू अबलम्बन गर्नुपर्ने र तिनलाई आवश्यकताअनुसार परिमार्जन र व्यवस्थापन गर्नुपर्ने बताए । सांसद थापाले सरकारले नीति तथा कार्यक्रममार्फत् भ्रष्टाचार अन्त्य गर्नकालागि उपचारात्मक नीतिमात्रै उल्लेख गरेको भन्दै त्यतिले मात्रै भ्रष्टाचारको अन्त्य नहुने बताए ।

‘हामीले उपचारात्मक विधिबाट मात्रै भ्रष्टाचारको अन्त्य गर्न सक्दैनौँ । यसका लागि अहिले निर्वाचनमा हुने खर्च प्रणालीदेखि निजामती, प्रहरी वा संवैधानिक आयोगको नियुक्त सम्ममा भ्रष्टाचार नियन्त्रण गर्ने नीति लिन सक्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्