निजामती सेवा ऐन तत्काल जारी गर्न कर्मचारी संगठनको माग
काठमाडौं , जेठ ८ । नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारसँग माग गरेको छ ।
काभ्रेको धुलिखेलमा आयोजित प्रदेश, जिल्ला तथा विभागीय कार्य समितिका अध्यक्षको पहिलो राष्ट्रिय भेलाले सरकारसँग वार्ता र आन्दोलन एकसाथ अघि बढाउने निर्णय गरेको सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
भेलाले समायोजन ऐनको कारण मर्कामा परेका कर्मचारीको समायोजन संशोधनका लागि पुनः एकपटक मौका दिन माग गरेको संगठनका अध्यक्ष लेखनाथ कोइरालाले पत्रकार सम्मेलनमा बताए ।
सार्वजनिक प्रशासनको सबलीकरणका लागि तत्काल निजामती सेवा ऐन जारी हुनुपर्ने आफूहरूको माग रहेको महासचिव जीवन काफ्लेले बताए । उनका अनुसार नेपाल निजामती कर्मचारी संगठनले सरकारसमक्ष पेश गरेका सुझाव सम्बोधन हुने गरी र समायोजन ऐनको प्रतिकूल नहुने गरी संघीय निजामती सेवा ऐन तत्कालन जारी गर्नुपर्ने निर्णय राष्ट्रिय भेलाले गरेको छ ।
साथै ऐनमा विभिन्न प्रदेशबाट जारी भएका प्रदेश निजामती सेवा ऐन, स्थानीय सेवा ऐन तथा नियमावलीले दिएका सेवा सुविधा कायम रहनुपर्ने संगठनको माग रहेको महासचिव काफ्लेले जारी गरेको विज्ञप्ति तथा घोषणापत्रमा उल्लेख छ ।
यस्तै २०७६ सालमा स्थानीय तहको कानून नहुँदा लोक सेवा आयोगबाट स्थानीय तहमा नियुक्त भएका साबिकमा निजामती सेवामा कार्यरत कर्मचारीको सेवा अवधि गणना गर्न पनि संगठनले माग गरेको छ ।
त्यस्तै निजामती सेवा ऐन जारी गराउन वार्ता र संवाद कायम गर्दै आन्दोलन अघि बढाउनेलगायतका ११ बुँदे घोषणा पत्र पनि सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् धुलिखेल घोषणापत्र–















प्रतिक्रिया दिनुहोस्