बालकृष्णलाई भेट्न टेकु पुगिन् मञ्जु खाँण
काठमाडौँ , जेठ ८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् ।
गत २७ वैशाखमा पक्राउ परेकोमा बालकृष्णलाई भेट्न मञ्जु १३ दिनपछि टेकु पुगेकी हुन् ।
बिहान परिसर पुगेकी मञ्जु पनि सुरु चरणमा अनुसन्धानको घेरामा रहेकी थिइन् । प्रकरणमा आरोपितहरू धमाधम पक्राउ पर्न थालेपछि उनी विदेश पुगेको जस्ता समाचारहरू पनि आएका थिए । तर मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।
उनी संलग्न रहेको आशंका गर्न सकिने अडिओहरू बाहिरिए पनि प्रमाण नपुगेको भन्दै प्रहरीले उनलाई पक्राउ परेका छैन । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद आरजु राण देउवा पनि यो प्रकरणमा मुछिएपनि प्रमाण नपुगेको प्रहरी स्रोतको दाबी छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्