कांग्रेसलाई दलको संज्ञा दिन मन लाग्दैन : ओली

काठमाडौं, जेठ ३ ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार काठमाडौँमा मदन-आश्रितको ३१ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सा गठबन्धन सत्तामा मात्रै सीमित रहेको उल्लेख गरे । अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रूपमा लिइरहेको उनले बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको तर्क गरे ।

उनले कांग्रेस कर्तव्य विमुख भएको आरोप लगाए । उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए । वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन भएको अध्यक्ष ओलीको भनाई छ ।

उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढङ्गले लिइएको छ, मानिसहरूको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरूले, सत्ताधारी गठबन्धनले त्यो दुःखद कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चाबा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली कांग्रेस कर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन । हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन हो, कार्यक्रमविहीन गठबन्धन हो ।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए । अहिलेको सत्ता गठबन्धन टिक्छ की जान्छ भन्नेमा मात्रै सीमित रहेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्