नक्कली शरणार्थी प्रकरण: १४ अभियुक्तलाई आज एकसाथ अदालत लगिँदै
काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका चौधै जनालाई प्रहरीले आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने भएको छ।
उक्त प्रकरण अनुसन्धान गर्न अहिलेसम्म समातिएका सबै (१४ जना) का लागि लिइएको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो।
अहिलेसम्म उक्त प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँण गृहमन्त्री हुँदाका गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन निजी सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप रायमाझी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्। यसैगरी बिचौलियाहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरी पनि पक्राउ परेका छन्।
यीमध्ये पूर्वसांसद शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ।सरकारी वकिलको कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेले प्रहरीसँग थप सल्लाह गरेर के कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय गरिने बताए।















प्रतिक्रिया दिनुहोस्