रास्वपाको आशंका : नक्कली शरणार्थी प्रकरण सामसुम पारिन सक्छ
काठमाडौं,जेठ १ । राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भुटानी शरणार्थी प्रकरण मिलाउने प्रयास गरिरहेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।
आईतवार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेर नक्कली शरणार्थी प्रकरण मिलेमतोमा सल्ट्याउने प्रयास गर्नु नहुने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको बैठकमा भ्रष्टाचारको घटना मिलाउनका लागि तीन दलको बैठक बस्नु नहुने पनि स्पष्ट पारे ।
उनले आफ्नो पार्टी राजनीतिक लेनदेनमा नबस्ने भन्दै संसद प्रभावकारी बनाउनु पर्ने बताए । उनले भ्रष्टाचारमा अहिले भइरहेको छानबिनको विषयलाई पार्टीले समर्थन गर्ने तर यतिमा मात्रै खुशी हुने अवस्था नरहेको भन्दै सबै चनाखो भएर रहनुपर्ने अवस्था आएको बताए । उनले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तलमाथि हुन नदिन आफ्नो पार्टी लापिरेको बताए ।
बैठकमा पछिल्लो समय शीर्ष तीन दलका नेताहरुको बैठक बसिरहेको र त्यसले संसदलाई बन्दी बनाउने आशंका उब्जाएका बताउँदै उनले भने, ‘आवाज उठाउने सबैभन्दा मुख्य ठाउँ संसद नै हो, यदी त्यहाँ बन्द गरियो भने हामी सडकमा गएर भएपनि आवाज उठाउनेछौँ । राजनीतिक पार्टीहरु अब फेरि बचाउन लाग्नेतिर जानुहुन्छ भन्ने लाग्दैन ।’
उनले बैठक बस्न मिल्ने तर संसदीय गतिविधिहरु संसदबाट नै हुनुपर्ने अडान रास्वपाको रहेको जिकिर गरे । उनले संसदबाट हुनुपर्ने काम कारबाही र निर्णय संसदबाट नै हुनुपर्ने बताए । उनले थपे, ‘तीन दल कुनै न कुनै हिसावले भुटानी शरणार्थी प्रकरणमा जोडिएका छन्, बाहिर आएको कुरा छ, त्यो घटना मिलाउनका लागि तीन दल बस्नु भएन, हामी उहाँहरुसँग चारौँ दल भएर राजनीतिक लेनदेन गर्ने छैनौँ । भ्रष्टाचारका मुद्दालाई मिलेमतोमा कमजोर बनाउन पाइँदैन ।’
प्रतिक्रिया दिनुहोस्