अदालतबाट बाहिरिँदै गर्दा खाणले भने- म संलग्न छैन

काठमाडौं, बैशाख ३१ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी प्रहरी हिरासतमा रहेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले आफू यो प्रकरणमा संलग्न नरहेको दाबी गरेका छन्।

आज जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित भएर बाहिरिने क्रममा सञ्चारकर्मीले केही भन्नुहुन्छ? भनेर जिज्ञासा राख्दा उनले भने, म संलग्न छैन।

थप केही नबोल्ने भन्दै हातले संकेत गरेर उनी प्रहरीको गाडीमा बसे। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्नता देखिएको भन्दै खाणलाई प्रहरीले वैशाख २७ गते बुधबार पक्राउ गरेको थियो। सोही दिन ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएकोमा उक्त म्याद सकिएपछि फेरि आज म्याद थप गरिएको हो।

यो प्रकरणमा हालसम्म खाणसहित १२ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, खाणका निजी सचिव नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी र गोविन्द चौधरी छन्।

यही प्रकरणमा छानबिन गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेका पूर्वमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी भने फरार छन्। उनलाई एमालेले पार्टी सचिवबाट निलम्बन गरेको छ। प्रहीले आजमात्रै कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्