यौन दुर्व्यहार आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आज म्याद थप गरिँदै
काठमाडौं , बैशाख ३१ । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका खोटाङको दिक्तेलस्थित ‘शुभद्रा मदन फाउन्डेसन’ (शुभम) का संस्थापक मदन राईविरुद्ध आज (आइतबार) अदालतबाट म्याद थप गरिने भएको छ।
उनकै फाउन्डेसनमा ७ वर्ष बसेर पढेकी एकजना १६ वर्षीया किशोरीले यौन दुर्व्यवहारको अभियोगमा ७५ वर्षीय राईविरुद्ध गत शुक्रबार जाहेरी दिएपछि त्यही दिन खोटाङ प्रहरीले उनलाई पक्राउ गरेको हो।
हिजो शनिबार (सार्वजनिक बिदा) भएकाले आज राईलाई अदालत उपस्थित गराई म्याद थपको अनुमति लिइने खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
‘आज हामी मदन राईविरुद्ध अनुसन्धानका लागि म्याद थप गराउँछौँ’, प्रहरी निरीक्षक कार्कीले आइतबार बिहान नेपालखबरसँग भने।
अहिले अभियुक्त राई खोटाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्। जाहेरी दिने किशोरी भने अहिले कसैको संरक्षणमा राखिएको तर यसभन्दा बढी खुलाउन नमिल्ने प्रहरी निरीक्षक कार्कीको भनाइ छ।















प्रतिक्रिया दिनुहोस्