भ्रष्टाचारविरुद्ध सत्तारुढ विद्यार्थीको प्रदर्शन
काठमाडौं, बैशाख २७ । सत्तारुढ गठबन्धनका विद्यार्थी संगठनहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । बिहीबार भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ,अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौँको भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन् ।
उनकाअनुसार नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शन गरिएको हो । निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने अध्यक्ष सिंहको भनाई छ ।
प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यबद्धता जनाएको बताए ।
उनले यो घटनाको कुनैपनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे । सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने उनीहरूको माग छ ।















प्रतिक्रिया दिनुहोस्