तीन नेताबीच प्रहरी अनुसन्धानलाई ‘डिस्टर्ब’ नगर्ने सहमति भयो : प्रधानमन्त्री
काठमाडौं, बैशाख २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानलाई कुनै बाधा नगर्ने सहमति शीर्ष नेताबीच भएको बताएका छन्।
सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
‘हाम्रो भेटघाट मिडियामा आए जस्तो होइन। सदनलाई कसरी अघि बढाउने भन्ने कुरामा विस्तृत कुरा भयो। संसदीय समिति कसरी बनाउने आदिमा कुरा भयो’, उनले भने, ‘तर तपाईंहरुले भने जस्तो शंका गर्ने ठाउँ छैन।’
उनले तीन नेताबीच दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस् भन्ने कुरामा सहमति भएको पनि उल्लेख गरे।
‘हामीले प्रहरीलाई निष्पक्ष अनुसन्धानका लागि निर्देशन दिएका छौँ। प्रहरीले आफ्नो विधिअनुसार काम गरेको छ’, उनले भने, ‘प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्व नगरौँ भन्ने सहमति हामीबीच भएको छ।’
प्रतिक्रिया दिनुहोस्