बालकृष्ण खाँणलाई हिरासतमा राख्न म्याद लिने तयारी
काठमाडौं, बैशाख २७ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले ‘जरुरी पक्राउ पूर्जी’ थमाएर मैजुबहालस्थित घरबाट पक्राउ गरेको छ।
अदालतबाट पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिँदा सूचना चुहिएर भाग्न सक्ने स्थिति देखिएपछि उनलाई जरुरी पक्राउ पूर्जी दिएर पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बुधबार बिहानसम्म प्रहरी पक्राउ गर्न आउला भन्ने उनलाई छनक नभएको र नियमित काममै रहेको बताइएको छ। बुटवलमा रहेका खाँण मंगलबार मात्रै काठमाडौं आएका थिए। प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै असुली गरेको गिरोहलाई नीतिगत निर्णय गराउन खाँणले सहयोग गरेका थिए।
आर्थिक लाभ लिएर खाँणले गिरोहलाई सहयोग गरेको प्रकरणमा पक्राउ परेका ललितपुरका सानु भण्डारीले बयानमा भनेका छन्। खाँणलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली खटिएको थियो।
खाँण पक्राउ गरेलगत्तै जडिबुटीबाट उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले जरुरी पूर्जी थमाएको थियो।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैत २०७९ मा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै असुली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो। यसको तीन दिनपछि मोरङका सागर राई पनि पक्राउ परेका थिए।
उनीहरुको बयानका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंले १९ वैशाखमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पक्राउ गरेको थियो। यसको भोलिपल्ट २० वैशाखमा गृह मन्त्रालयका पूर्वसचिव एवं उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए।
यही प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार छन्। उनका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन्। पूर्वगृहमन्त्री बादलका छोरा प्रतिक थापाविरुद्ध पनि पक्राउ पूर्जी प्रहरीले लिएको छ।















प्रतिक्रिया दिनुहोस्