पूर्व गृहमन्त्री बालकृष्ण खाँण निवासबाटै पक्राउ
काठमाडौं, बैशाख २७ । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।प्रहरी उच्च स्रोतकाअनुसार पूर्वगृहमन्त्री समेत रहेका खाँण बिहान काठमाडौँको चाबहिलमा रहेको उनकै निवासबाट पक्राउ परेका हुन् ।
यसअघि भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहको अनुसन्धानको क्रममा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री खाँणकी पत्नीहरूले पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएको थियो ।
खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेको अवस्थामा कागजी प्रमाणअनुसार खाँण पनि अछुतो देखिएकाले अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको स्रोतको भनाई छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलाई विस्थापित गर्दै देउवा सरकार बनेपछि २९ असार २०७८ मा गृहमन्त्री भएका खाँणले २७ साउनमा पाण्डेलाई गृह मन्त्रालय ल्याएका थिए । गत बुधबार पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट (खाली) गरेको भेटिएकाले ‘रिकभर’ गर्न पठाइएको प्रहरी अधिकारीको भनाइ छ ।
तर, गिरोहका अन्य सदस्यका मोबाइल डिभाइसबाट प्राप्त विवरणअनुसार भने पाण्डे र गिरोहबीच निरन्तर सम्पर्क र साँठगाँठ रहेको तथ्य प्रहरीले फेला पारेको छ ।















प्रतिक्रिया दिनुहोस्