कांग्रेसमा तरंग ल्याउने अभिव्यक्ति: सहने जति सहेँ, अब त अत्ति भो: गगन थापा
काठमाडौं, बैशाख २५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आइतबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेको विचारले काँग्रेसमा नयाँ तरंग ल्याएको छ ।
काँग्रेसमा सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहेका गगनले अन्तत: आफ्नो असन्तुष्टि सामाजिक संजालमा पोख्दै उनीविरुद्ध नयाँ मोर्चा खोल्ने संकेत गरेका छन् ।
गगनले पार्टीमा आफ्नो सिमा रहेको सम्झेर प्रतिरोध गर्नुपर्ने विषयमा समेत मौन बसेको उल्लेख गर्दै साथीहरुलाई समेत सम्झाएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !
गगनको अभिव्यक्तिपछि अनेकौं अड्कलबाजी शुरु भएको छ । एक थरि कांग्रेस कार्यकर्ताले अब कांग्रेसमा सिधै देउवा भर्सेस गगन हुने बताएका छन् भने अर्को थरिले गगनले कांग्रेस फुटाउने त होइनन् भन्ने आशंका व्यक्त गरेका छन् ।
तर गगन निकट नेताहरुले भने कांग्रेसमा अब देउवा भर्सेज गगन नै हुने खरीबोटसँगको कुराकानीमा बताएका छन् ।
गगनको पछिल्लो असन्तुष्टिको पृष्ठभुमि भने पछिल्लो पटकभएको उपनिर्वाचनदेखि सरकार विस्तारको घटनाक्रमसँग जोडिएको बुझिएको छ । गगनले आफ्नो पक्षका केहि सांसदलाई मन्त्री बनाउन चाहन्थे । यसका लागि उनले प्रदिप पौडेल, जीवन परियार, बद्रि पाण्डे लगायतका नेताहरुलाई अगाडी सारेका थिए । तर कांग्रेसबाट सरकारमा मन्त्री बनाउदा डा. शेखर कोइरालाले सभापति देउवाले दिएको दुई सिटमै चित्त बुझाएपछि गगन असन्तुष्ट बनेका हुन् । गगनको शेखरले सभापति देउवासँग अडान लिन नसकेको ठम्याई छ ।
उपनिर्वाचन अघि डा. स्वर्णिम वाग्लेले कांग्रेस छोडेपछि नै गगन एक किसिमले आहत बनेका थिए । स्वर्णिमको कांग्रेसबाट बहिर्गमन पनि कांग्रेस नेतृत्वको नेता कार्यकर्ताप्रतिको व्यबहारको उपज थियो । त्यसपछि उपनिर्वाचनको हार लगत्तै सरकार विस्तारमा आफ्नो कुरा नसुनिएपछि अब गगनले अरु मार्फत होइन सिधै देउवासँग आमने सामने लड्ने मनस्थितिको निष्कर्ष आइतबारको सामाजिक सञ्जालको पोष्ट मान्न सकिन्छ ।
गगनले अहिलेको परिस्थितिमा कुनै कदम नचालेमा अब उनी निकट लगायत कांग्रेस भित्रका राम्रा नेताहरुलाई जोगाउन सकिदैन भन्ने बुझेका छन् । यसले कांग्रेस मात्र नभएर आफु पनि कमजोर बनिने बुझेर नै अब पार्टी भित्र ठोस कदम चाल्ने संकेत गरेको उनी निकट नेता कार्यकर्तामा चर्चा छ ।
गगन निकट एक नेताका अनुसार गगनले कम्तिमा अब सभापति देउवाविरुद्ध तल्लो तहसम्म आफ्नै नेतृत्वमा अभियान चलाउने छन् । यसक्रममा अहिले नै समानान्तर समितिहरु नबनाए पनि आवश्यक परेमा त्यो हदसम्म जाने मनस्थितिमा उनी रहेको बताइन्छ ।
सभापति देउवालाई संसदीय दलको नेताको निर्वाचनमा चुनौती दिएर एउटा पृष्ठभूमि बनाएका गगनले अब शेखर कोइरालाको भर गरेर देउवासँग लड्न नसकिने निष्कर्षमा पुगेको समेत दाबि गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्