राष्ट्रिय सभामा प्रश्न : आरजु देउवा र मञ्जु खाँणविरुद्ध पक्राउ पुर्जी किन जारी भएन?
काठमाडौं, बैशाख २४ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले गठबन्धनमा भएकै कारण आरजु देउवा राणा र मञ्जु खाँणमाथि पक्राउ पुर्जी हुन नसकेको हो? भन्दै सरकारसँग प्रश्न गरेका छन्।
आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मान हानी गर्न नहुने बताए।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा नेकपा एमालेका केही नेताहरुको नाम पनि जोडिएको छ। पक्राउ पुर्जी जारी भयो रे भनेर हल्ला पनि छ। फेरि उहाँ हराउनु भयो रे भन्ने हल्ला पनि छ। मैले त यसो हेरेँ, अडियो प्रकरण पनि आयो रे, यो हल्लै हल्लाको देश हो। यसमा आरजु देउवाले अढाइ करोड र बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले ६ करोड बुझेको भन्ने अडियो प्रकरण आएको छ। उनीहरुलाई यो सरकारले पक्राउ पुर्जी त जारी गरेको छ भन्ने सुनेको छैन।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा ट्रेलर मात्रै हो, वास्तविक फिल्म आउन बाँकी छ भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले के बोल्ने र के नबोल्ने भन्ने बारेमा ज्ञान राख्न आवश्यक रहेको बताए। नक्कली भूटानी शरणार्थीको कुरा सबैभन्दा पहिला संसदमा नेकपा एमालेले उठाएको दाबी पनि गरे।
उनले पूर्वसहसचि बालकृष्ण पन्थीको संयोजकत्वमा बनाएको छानबिन समितिको प्रतिवेदन अविलम्व सार्वजनिक गर्न माग गरे।
प्रतिक्रिया दिनुहोस्