बादलका छोरा प्रतीक भन्छन्- शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन
काठमाडौं, बैशाख २१ । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् ।
विहिबार एक विज्ञप्ति जारी गर्दै थापाले शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउदै झुटो आरोपसहित आफ्नो नाम जोडिएकोप्रति खेद प्रकट गरेका छन् ।
साथै उनले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन्-
लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ म विरुद्ध तथ्यहीन प्रचार गरिरहेका थिए र छन् । तर, पनि मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुचि रहेन ।
म विरुद्ध आज पनि गलत अभिप्रायकासाथ तथ्यहीन प्रचार र आरोपहरु लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोध जस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो ? भन्ने कुरा बुझ्न जरुरी छ । हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ । जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।
मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु । तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मान स्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।















प्रतिक्रिया दिनुहोस्