दार्चुलामा हिमपहिरो, आठ जना पुरिएको आशंका
काठमाडौं– दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा गएको हिमपहिरोमा परेर यार्सा खोज्न गएका करिब ८ जना मानिस पुरिएको अनुमान गरिएको छ। मंगलबार दिउँसो ३ बजे बोलिनमा हिमपहिरो गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले पुष्टि गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंह नजिकैको चौकीबाट असईको कमान्डमा टोली खटिएको र हिँडेर हिमपहिरो गएको स्थानमा पुग्न ३ घन्टा लाग्ने बताउँछन्। हिमपहिरोमा परेर बेपत्ता भएकाको हालसम्म पहिचान नभएको उनको भनाइ छ।
यार्सा खोज्न हिँडेका करिब आठ जना स्थानीय त्रिपालमा बसिरहेका बेला हिमपहिरो गएको प्रारम्भिक खबर प्राप्त भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए। सशस्त्र प्रहरीले हिमपहिरोमा पुरिएकाको खोजी गरिरहेको छ।
सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छांगरु दार्चुलाबाट डिएसपीको कमान्डमा ३० जनाको टोली घटनास्थलतर्फ गइरहेको बताइएको छ।















प्रतिक्रिया दिनुहोस्