अब पत्रपत्रिकामा खानेकुरा पोको पार्न नपाइने, पूर्ण रुपमा निषेध
काठमाडौं, बैशाख १९ । सरकारले सडक किनारमा बेचिने खाद्य बस्तु (स्ट्रिट फुड) को प्याकिङमा कडाइ गर्ने भएको छ ।
पत्रपत्रिका तथा विभिन्न प्रिन्टेड पेपर (काम नलाग्ने कागज) मा खाद्य बस्तुको प्याकिङ गर्न पूर्ण रुपमा निषेध गर्ने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।
पत्रिकाहरुमा विभिन्न रसायन हुने र त्यसले मानवीय स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले पत्रपत्रिका लगायत प्रन्टेड पेपरहरुमा पोको पारेर खाने कुरा बेच्न प्रतिबन्ध लगाउने तयारी भएको महानिर्देशक वैद्यको भनाइ छ । स्ट्रिट फुडसहित अन्य खानेकुरा प्याकिङमा प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउने गरी कार्यविधि निर्माणको काम सुरु गरिएको वैद्यले जानकारी दिइन् ।
आज (मंगलबार) बाट काठमाडौंमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सस्तो र मिठो हुने भएकाले स्ट्रिट फुडको उपयोग बढ्दै गइरहेकाले त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टिङ पेपरको प्रयोग गरेर प्याकिङ गरिने काममा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पारिन् ।
महानिर्देशक वैद्यले स्ट्रिट फुड र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि स्थानीय तहहरुसँग मिलेर अघि बढाएको बताइन् । उनले भनिन्, ‘केही सस्तो र मिठो खाजाको रुपमा चाहिँ स्ट्रिट फूडहरु एउटा राम्रो अल्टरनेटिभ हो। सबै जनाले फाइन डाइनिङ मात्रै गर्न सक्दैन । त्यसकारणले त्यो स्ट्रिट फुड चाँही फुड प्वाइजनिङ हुनु भएन। यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । हामीले केही अगाडि देखि नै विभागबाट पनि यसको एउटा कार्यविधि बनायौँ। र, कार्यविधिमा अहिले हामीले तुरुन्तै गर्न सक्ने एउटा कुरा चाहिँ टडकारो रुपमा देखिएको र खड्केको कुरा चाहिँ जुन न्युज पेपरहरुमा चटपटे, पानीपुरी लगायतको प्याक गरेर खाने जुन चलन छ । त्यसलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ ।’
उनले थपिन्, ‘मालपुवा, सेलरोटीहरु पनि त्यहि प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । हामी त्यसरी समोसाहरु पनि खाइराखेका हुन्छौं । फुड प्वाइजन हुने भएकाले हामीले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसमा अवेयर पनि गराउने र क्रमशः यसलाई हामीले प्रतिबन्ध लगाएर खाद्य ऐन बमोजिम यस्तो हानीकारक चिजहरुलाई हामी प्रतिबन्ध लगाउन सक्छौं । त्यो बाटोमा पनि हामी लाग्नुपर्ने देखिन्छ ।’















प्रतिक्रिया दिनुहोस्