संसदीय समितिको बैठक बोलाउने तयारी, अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने सञ्चार संवाददाता
काठमाडौं, बैशाख १९ । प्रतिनिधिसभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ।
प्रतिनिधिसभाको गत शुक्रबारको बैठकले १० वटा विषयगत समिति गठन गरेको छ। यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद् सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको जानकारी दिए।
‘अब समितिहरू आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा हो। सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ’, उनले भने, ‘सभापतिको निर्वाचनको सम्बन्धमा हाम्रो नियमावलीको व्यवस्था भनेको सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने भन्ने व्यवस्था छ।’
पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफल गर्ने संघीय संसद् सचिवालयका प्रवक्ता गिरीले बताए। समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाउने उनले जानकारी दिए।
प्रवक्ता गिरीले सबै समितिको पहिलो बैठक एकैपटक बस्नसक्ने बताए।
गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनु ४८ घण्टा अगावै प्रकाशन गर्ने जानकारी दिए।
‘सभापतिको निर्वाचनका लागि समितिमा रहने कुनै सदस्यलाई समितिको सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सम्बन्धित समितिकै कुनै सदस्यबाट प्रश्तावित भएर र अर्को कुनै सदस्यबाट समर्थन भएर सचिवले प्रकाशन गर्ने सूचनापश्चात जुन ४८ घण्टाको समय हुन्छ’, उनले भने।
प्रतिनिधि सभामा १० वटा विषयगत समिति रहेका छन्। यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहनेगरी दुई विषयगत समिति पनि छन्। प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरूको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।
प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरू सबै समितिमा उत्तरदायी भूमिकामा रहने भएकोले विषयगत समितिहरूमा सदस्य तोकिने व्यवस्था छैन।
प्रतिक्रिया दिनुहोस्