प्रचण्डले भने- ओली माथिको आक्रमण प्रयासमा सत्तारुढ दलको संलग्नता छैन

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन्।

चितवनमा आयोजित पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन्।

‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने,’तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमा आस्था राख्ने मानिसहरु रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार पाँचै बर्ष टिक्ने जनाउँदै हल्लाको पछि नलाग्न अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्