आज मध्यरातबाट संघीय संसदको अधिवेशन अन्त्य हुँदै

काठमाडौं, बैशाख १५ ।  संघीय संसद्को अधिवेशन अन्त्यको तयारी गरिएको छ । आज (शुक्रबार) को बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनायो ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् । आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउने तयारी छ ।

त्यसमा सरकारले जवाफ दिनेछ । सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने कार्यसूची छ । तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ ।

प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्