सबैको मनजित्दै गोकर्णेश्वर नगर अस्पताल

काठमाडौं, १४ बैशाख ।  सरकारी सेवाप्रति तिक्तता बढ्दै गएको बेला गोकर्णेश्वर नगर अस्पतालले भने सेवाग्राहीको मन जित्दै गएको छ । सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई चिर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाद्वारा सञ्चालित यो अस्पतालले भौतिक पूर्वाधार सम्पन्न नभएतापनि उपचारमा विज्ञ चिकित्सकको टोलीसहित छिटो, छरितो रुपमा सेवा प्रदान गरि सेवाग्राहीको मन जित्न सफल भएको छ । नगरपालिका र सञ्चालक समितिको अग्रसरता र प्राविधिकहरुको सहयोगमा सेवाग्राहीलाई उच्चस्तरको सेवा प्रदान गर्न अस्पताल सक्षम भएको हो ।

१५ शैयाको अस्पतालमा दिनहुँ करिब ३ सयभन्दा बढि सेवाग्राही आउने गरेका छन् । प्रविधि मैत्री, अत्याधुनिक र गुणस्तरीय मेसिन, विशेषज्ञ सेवा, २४ घण्टे आकस्मिक सेवा र एम्बुलेन्स सेवा, रेडियोलोजी, एक्सरे, जनरल फिजिसिन, आँखा सेवा केन्द्र, थोरै शुल्कमा अधिकतम सुविधा अनि छिटो र छरितो सेवाले गर्दा सेवाग्राहीलाई सरल रुपमा उपचार गर्न सफल भएको सूचना अधिकारी टिका खड्काले बताउनुभयो ।
अन्य अस्पतालले सेवाग्राहीलाई सन्तुष्ट पार्न नसकेको स्वास्थ्य बीमाका सेवाग्राहीलाई समेत नगरपालिका र अस्पताल व्यवस्थापनको सहयोगमा स्वास्थ्य बीमा सेवालाई चुस्त बनाएको छ । नेपाल मेडिकल शिक्षण अस्पताल जस्ता ठूला अस्पतालको उपथितीका वावजुद पनि अस्पतालमा मुटुरोग, स्त्रीरोग, बालरोग, जनरल फिजिसियन, हाडजोर्नीलगायत विशेषज्ञ सेवा भएको र सेवा शुल्कसमेत न्यून भएकाले अन्य अस्पतालको तुलनामा यो अस्पताल सबैको रोजाई बन्ने गरेको स्थानीय सेवाग्राही श्रीचन के.सी बताउनुहुन्छ । खासगरि निम्न आय भएका बिरामीको लागि भने यो अस्पताल बरदान भएको सेवाग्राहीहरु बताउँछन् ।

नगर अस्पतालले उपलब्ध गराएका सबै किसिमका सेवाबाट आफू सन्तुष्ट भएको स्थानिय सेवाग्राही जीना पौडेलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सेवा राम्रो छ, प्राविधिक जनशक्ति अलि कम भएको जस्तो लाग्छ । सरकारी अस्तापालमा यत्तिको सेवालाई राम्रो भन्नुपर्छ ।’
त्यस्तै अस्पतालले आँखा सेवा पनि शुरु गरेको छ । नेपाल दृष्टि विशेषज्ञ संघ र गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा गोकर्णेश्वर नगर अस्पतालमा यो सेवा प्रारम्भ भएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अन्तर्गत आधारभूत स्वास्थ्य सेवामा आँखा सेवालाई संलग्न गर्ने मूल मर्मलाई कार्यान्वयन गरेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा नगर अस्पताल संचालक समितिका अध्यक्ष जयराम महतले बताउनुभयो । उहाँले निम्न आय भएका ब्यक्ति बिरामी भएको खण्डमा अन्य अस्पताल जाँदा धेरै पैसा खर्च हुने बताउदै गोकर्णेश्वर नगर अस्पतालले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गर्र्दै आएको बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्च स्तरको सेवा प्रदान गर्न नगरपालिले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताउनुभयो ।
प्रमुख रिसालले अस्पतालको लागि २५ कारोडको लागतमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको बताउनुभयो । यसको लागि संघ सरकारले १८ कारोड ५० लाख विनियोजन गरी सकेको र नपुग रकम नगरपालिकाले व्यहोर्नेे उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अस्पतालको भौतिक पूर्वाधार निर्माणका लागि केन्द्र सरकारले १८ करोड ५० लाख विनियोजन गरेको र बाँकी नपुग रकम नगरपालिकाले व्यहोर्छ । अस्पतालको लागि ३० रोपनी भन्दा बढि क्षेत्रफलको जग्गा नगरपालिका र अन्य संघ/संस्थाको सहयोगमा प्राप्त भएकोछ ।’ भवन निर्माण गर्न डिपिआर भई ठेक्का लाग्ने अन्तिम प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले नगर अस्पतालले सेवाग्राहिलाई गोकर्ण क्षेत्रमा रहेका अन्य सुविधा सम्पन्न अस्पतालले भन्दा गुणस्तरीय र चुस्त सेवा प्रदान गर्दै आएको बताउनुभयो । अहिले भौतिक पूर्वाधारको कमी भएको र भवन निर्माणपछि त्यसको पनि अन्त हुने उहाँको भनाईछ । आवश्यक चिकित्सक तथा अत्याधुनिक उपकरणहरु थप गर्दै लैजाने छौं उहाँले भन्नुभयो, ‘हामीसँग स्रोत र साधनको कमी छैन । मानविय सेवालाई तिब्रता दिंदै अगाडि बढिरहेका छौं । गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा पालिकाले कुनै कसर बाँकी राखेको छैन ।’

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सेवाग्राहीको कुनै गुनासो नआउनेगरि कार्य सम्पादन गर्दै आएको कुरा थप्नुभयो । गोकर्णेश्वर नगर अस्पताललाई सरकारी अस्पतालमध्येको नमुना अस्पताल बनाउन सफल भएको उहाँको दावीछ ।

अस्पतालका नि. प्रमुख डा.साङबो लामाले नगरपालिका, सञ्चालक समिति र सरोकारवाला सबैको सहयोगबाट नै अस्पतालले चुस्त सेवा प्रदान गर्न सफल भएको बताउनुभयो । प्रविधिको उच्चतम प्रयोगगर्दै सेवाग्राहिलाई सेवा चुस्त बनाउनु नै अस्पतालको प्राथमिकता भएको उहाँको भनाईछ ।

गोकर्णेश्वर नगरपालिकामा १५ शैया नगर अस्पतालसहित ११ वटा स्वाथ्य केन्द्र रहेको छ । ४ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, १ वटा नागरिक आरोग्य केन्द्रलगायतले सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेकोछ । गोकर्णेश्वर नगरपालिकामा करिब १ लाख ५० हजार जनसंख्या रहेकामा लगभग ११ प्रतिशत मानिसले स्वास्थ्य बीमा गरि सेवा लिएका छन।

 

प्रतिक्रिया दिनुहोस्