नेपालमै उत्पादित सवारी दर्ता गर्न बाटो खुल्ला, ‘यात्री’ लाई राहत
काठमाडौं, बैशाख १४ । नेपालमै बनेका सवारीसाधन अब दर्ता हुने भएका छन् । यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन गरेसँगै नेपालमा बनेका सवारीसाधन दर्ता हुने बाटो खुलेको हो ।
विभागले बिहीबार सूचना जारी गर्दै स्वदेशमै उत्पादन भएका र एसेम्बल गरिएका सवारीसाधनलाई पनि दर्ता गर्ने बाटो खुला गरेको जानकारी दिएको हो । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरिएको छ । जसमा ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने छैन’, उल्लेख छ ।
दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्यअभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपालमा बनेको विद्युतीय बाइक ‘यात्री’ले नम्बर प्लेट नपाएपछि उत्पादन बन्द गर्ने चेतावनी दिंदै आएको थियो । यस्ता विद्युतीय बाइकका यात्रुले सुरक्षा जाँचमा उनलाई नम्बर प्लेट नभएको भन्दै ट्राफिक प्रहरीले लामै स्पष्टीकरण सोधेर हैरान पार्ने गरेका छन् ।
सवारी दर्ता हुन यातायात तथा सवारी ऐन–२०४९ र बागमती प्रदेश यातायात तथा सवारी ऐनले तोकेको प्रक्रियाले नेपालभित्र बनेका सवारी दर्ता गर्न नमिल्ने भएपछि कानुनी उल्झन परेको थियो । अब निर्देशिका संशोधन गरेर सरकारले नेपालमा बनेका सवारी दर्ता गर्ने प्रबन्ध गरेको हो ।















प्रतिक्रिया दिनुहोस्