विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दो
काठमाडौं, बैंशाख १३ । विश्वभर विद्युतीय सवारी साधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ । आज यहाँ जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारी साधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको छ ।
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी ( आइईए) सडक यातायातका साधनमा विद्युतीय सवारीप्रति आकर्षण एवम् माग बढेकाले ऊर्जा उद्योगमा त्यसले ठूलो प्रभाव पार्नेछ भने चालु दशकको अन्त्यसम्ममा दैनिक ५० लाख ब्यारेल इन्धनको खपत अन्त्य गर्नेछ । हाल विश्वमा दश करोड ब्यारेल इन्धन दैनिक रूपमा खपत भइरहेको छ ।
विश्वव्यापी ऊर्जा अर्थतन्त्रमा विद्युतीय सवारी साधनको द्रुत रूपमा भइरहेको उत्पादनले बढोत्तर भएको आइईएका कार्यकारी निर्देशकले बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी वार्षिक प्रतिवेदनमा यो वर्ष त्यस्ता सवारी साधनको बिक्री ३५ प्रतिशतले बढेर एक करोड चालीस लाख पुग्ने अपेक्षा गरिएको छ । यो सन् २०२० को विद्युतीय सवारी साधनको चार प्रतिशतको बजार हिस्साको तुलनामा १८ प्रतिशतले बढी हो ।
प्रतिवेदनअनुसार चीन, अमेरिका र युरोपेली देशका बजारमा बिजुली गाडीको माग अधिक छ । गत वर्ष यस्ता गाडीको ६० प्रतिशत बजार चीनले ओगटेको थियो । बिजुली गाडी खरिदमा अमेरिकाले सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरेसँगै अमेरिकी उपभोक्ता पनि त्यसतर्फ आकर्षित भएकाले आगामी वर्षहरूमा विद्युतीय सवारी साधनको बिक्री बढ्ने अपेक्षा गरिएको छ ।
सन् २०३० सम्ममा युरोपेली मुलुक, अमेरिका र चीनले ६० प्रतिशत विद्युतीय सवारी साधनको हिस्सा ओगट्ने प्रक्षेपण गरिएको छ ।















प्रतिक्रिया दिनुहोस्