राष्ट्रिय स्वतन्त्र पार्टीका डा. वाग्ले भारी मतले विजयी
काठमाडौं, १२ बैशाख। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा। स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सय भन्दा धेरै ल्याई उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।
वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।
यसअघि गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि उपनिर्वाचन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्