रास्वपाले माफी माग्यो, चितवनको दुई केन्द्रमा रोकिएको मतदान सुरु

काठमाडौं, बैशाख १० ।  चितवन क्षेत्र नं. २ का दुई केन्द्रमा रोकिएको मतदान पुनः सुरू भएको छ । भरतपुर महानगरपालिका–११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुर–७ स्थित कृष्णपुर मावि केन्द्रमा रोकिएको मतदान सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि पुनः मतदान सुरु भएको हो ।

भरतपुर महानगरपालिका–११ मा पर्ने नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला तनावको स्थिति उत्पन्न भएपछि मतदान रोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएको थियो । रवि लामिछाने भरतपुर–१२ को मोहन माविबाट नयाँ किरण मावि भोजाडमा जाँदा उनका समर्थकहरूले पक्षमा नारावाजी गरेका थिए । मतदानस्थलमा नाराबाजी गरेको भन्दै त्यसको विरोध अन्य दलले गरेपछि तनाव उत्पन्न भएको हो ।

सो क्रममा मतदानस्थल बाहिर केहीबेर झडप भएको थियो । प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदानस्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो भने विद्यालयको मूल गेट बन्द गरिएको थियो । अवस्था सामान्य भएपछि विद्यालयको गेट खोलिएको छ र मतदान पुनः सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्