गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी बृहत् गजल महोत्सव गर्दै

काठमाडौं , ८ बैशाख । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्ने भएको छ । खेलकुद प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु गर्दै आएको नगरपालिकाले साहित्यिक क्षेत्रको विकास विस्तारका राष्ट्रव्यापी खुला प्रतियोगितात्मक बृहत् गजल महोत्सव आयोजना गर्न लागेको नगरपालिकाले जनाएको छ ।

महोत्सव यही वैशाख २३ गते गोकर्णेश्वर नगरपालिका (९ आरुबारीमा आयोजना हुनेछ । प्रतियोगिताकालागि उपलब्ध रचनाहरू विज्ञ समूहद्वारा मूल्यांकन गराई ४० वटा रचनाहरूको वाचन तथा गायनबाट छनोट गरिने जनाइएको छ ।

प्रतियोगितामा प्रथम हुने गजलकारलाई करबाहेक नगद ६० हजार, द्वितीयलाई ४० र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँचजनालाई सान्त्वना पुरस्कारस्वरुप जनही २० हजार रुपैयाँका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यसैगरी, महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ अप्रतियोगिका रूपमा विशिष्ठ गजलकारहरूको प्रस्तुति रहने महोत्सवलाई सफल र भव्य रूपमा सम्पन्न गर्न साहित्यकार गोविन्द घिमिरेको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले विगतमा राष्ट्रियस्तरको कविता प्रतियोगितालगायत कार्यक्रम आयोजना गरिसकेको छ ।

गोकर्णेश्वर नगरपालिकाले साहित्यिक प्रकाशनहरूमा पनि सहयोग गर्दै आएको छ । सभ्य तथा सचेत समाज निर्माणमा साहित्यको सबैभन्दा महत्वपूर्ण भूमिका हुनेभएकाले साहित्यिक गतिविधिलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको नगर प्रमुख दीपक रिसाल बताउनुहुन्छ ।

रमेश विकल, भैरव अर्याल, कञ्चन पुडासैनी जस्ता साहित्यिक हस्तिहरूको जन्म तथा कर्मभूमिको रूपमा परिचित गोकर्णेश्वर नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिने प्रमुख रिसालले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्