अश्लील भिडियो कल गरेर पैसा असुल्ने गिरोह सक्रिय, सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौं, बैशाख ५ ।  नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालको प्रयोगमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कलमार्फत अपराधका घटना बढेको जनाउँदै ब्युरोले विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

केही समयदेखि सामाजिक सञ्जालका प्रयोकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाएर आफैँ भिडियो कल गरी अपरिचित व्यक्ति आफैँले अश्लील क्रियाकलाप देखाएर सम्बन्धित व्यक्तिलाई झुक्यानमा पार्ने गरेको देखिएको ब्युरोले जनाएको छ ।

“कल गर्ने व्यक्तिले अश्लील क्रियाकलापमा संलग्न हुने वातावरण बनाई उक्त भिडियो कलको रेकर्ड गर्ने गर्दछ । त्यसपछि साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरू पछिल्लो समय धेरै नै बढ्दै गइरहको देखिन्छ,” ब्युरोले भनेको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्दा अवाञ्छित क्रियाकलापप्रति सहज रहन तथा अपरिचित आईडी वा ह्वाट्सएप, भाइबर लगायतका नम्बरबाट कुनै पनि कल आएमा यकिन गरी मात्र संवाद गर्न ब्युरोले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्