राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि हो: अध्यक्ष तिमिल्सिना
काठमाडौं, बैशाख ५ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पार्टी र पार्टीका नेतृत्वप्रति कटाक्ष गरेका छन्।
मंगलवारबाट काठमाडौंमा शुरु भएको नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी र पार्टीका नेताहरुप्रति कटाक्ष गरेका हुन्।
उनले त्याग गरेका नेताहरुको तुलनामा भर्खरै राजनीतिमा आएका नेताहरुको चर्चा बढी भइरहेको भन्दै राजनीतिमा टिकेर देखाउन सक्नुपर्ने बताए।
उनले भने, ‘अब गर्ने कुराको महत्व हुन्छ, हिजो हामीले के गरेका थियौँ, त्यो इतिहास हो। इतिहासलाई बचाउने र त्यसलाई जीवन्त दिने कुरामा वर्तमानमा पनि त्यत्तिकै राख्नुपर्छ। आज त्यत्ति नेताहरुले चासो नदिएको जस्तो देखिन्छ। त्याग गरेका भन्दा भर्खरै हार्ईंफाईं गर्नेहरु नै बढी चर्चामा आउने गरेका छन्। कति टिक्नुहुन्छ, टिक्दा त राम्रो शुभकामना कति हुन्छ भविष्यले बताउँछ।’
उनले बुद्धिचालका कारण मानिसहरुको दिमाग तेजिलो हुनेपनि बताए। उनले नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओली जेलमा रहँदादेखि नै खेलहरुमा उत्कृष्ट रहेको भन्दै चेस खेलकै कारण अहिलेको राजनीतिक खेलाडी बनेको ठट्टा गरे। चेस खेलले मानिसको क्षमता विकास गर्ने भन्दै उनले राजनीतिक खेलाडी बन्नुमा एउटा कारण चेस पनि रहेको बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल पनि चेस धेरै खेल्ने खेलाडी भएकाले नै जंगलदेखि संसद र सरकारसम्म पुग्नुको कारण हुनसक्ने उनको भनाइ छ। अध्यक्ष तिमिल्सिनाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धेरै चेस खेलेका कारण धेरै पटक प्रधानमन्त्री बनेको हुनसक्ने बताए।
अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएकाले आगामी दिनमा महत्व दिन आग्रह गरे। उनले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको पनि बताए।















प्रतिक्रिया दिनुहोस्