सुरक्षा निकायलाई राजनीतिक दबाब र चलखेलबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, बैशाख ५ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिवद्धता जनाएका छन्।

गृहमन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन्।उनले सुरक्षा निकाय र गृह प्रशासनमा कुनै शक्ति केन्द्र वा कुनै राजनीतिक दबाबबाट मुक्त हुनुपर्ने पनि बताए।

साथै, उनले सुरक्षा निकायमा हुने विचौलियाको भूमिकालाई शुन्यमा झारिने पनि दाबी गरे।

उनले राष्ट्र र जनताको निम्ति प्रहरी प्रशासन हो भन्ने बनाउनेगरी काम गरिरहेको बताए। उनले सुरक्षा निकायमा काम गर्नेहरुको मनोबल गिरेको खण्डमा सुरक्षा व्यवस्थामा नै प्रश्न उठ्ने भन्दै दबाबरहीत प्रणाली स्थापित गर्नुपर्ने पनि बताए।

उनले निष्पक्षताको आधारमा सुरक्षा निकायमा पदस्थापन हुने प्रणालीको विकास गर्ने बताए।

श्रेष्ठले देशका सबै वास्तविक नागरिकहरुले नागरिकताको प्रमाणपत्र सहज ढंगले छिटो भन्दा छिटो प्राप्त गर्न पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको स्पष्ट पारे।

उनले नागरिकताको विषय संवेदनशील भएकाले राष्ट्रिय सहमतिको पहल भइरहेको पनि बताए।

मन्त्री श्रेष्ठले मिटरब्याजबाट पीडितहरुको समस्या समाधानका लागि अधिकार सम्पन्न आयोग बनाएको उल्लेख गर्दै आयोगले नै अब सबै पीडितहरुका समस्या समाधान गर्ने बताए।

मन्त्री श्रेष्ठले आम जनताले निर्वाध रुपमा अमनचयन पाउने कुराको सुनिश्चित गर्न चाहेको पनि दाबी गरे।

प्रतिक्रिया दिनुहोस्