प्रतिनिधि सभा बैठक : शुन्य समयमा कसले के भने ?
काठमाडौं , बैशाख ५ । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरूका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ्य उत्पादनमै असर परेको बताए ।
प्रतिनिधि सभा सदस्य बिजुला रायमाझीले देशका १८ देखि ४० वर्षभित्रका युवाहरू नेपालभित्रै बस्ने वातावरण कहिले बन्छ ? भनी सरकारलाई प्रश्न गरे । उनले नेपालमा व्यवसायहरू धराशायी भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभा सदस्य बिना लामाले सुरक्षा निकायले जनताको जिउधनको सुरक्षा दिन नसकेको भन्दै आपत्ति जनाए ।
प्रतिनिधि सभा सदस्य विनोदकुमार चौधरीले सुस्ता र गण्डकमा हरेक वर्ष हजारौँ परिवार डुबानमा पर्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यस विषयलाई उठाउन आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले सुदूरपश्चिमको राजधानी अहिलेसम्म निर्माण हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै राजधानी कसले बनाउने हो ? भनी प्रश्न गरे ।
प्रतिनिधि सभा सदस्य बिना जैसवालले नेपालमा हिन्दु राष्ट्र कायम हुनुपर्ने धारणा राखे ।
प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाले मिटरब्याज पीडित किसानहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे ।
प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले संसदमा उठ्ने प्रश्नहरूको राम्ररी अभिलेख राख्नुपर्ने बताए ।
उनले संसदमा सोधिएका प्रश्नहरूको सम्बन्धित मन्त्रीबाट जवाफ आए, नआएको पनि रेकर्डमा राख्नुपर्ने बताए ।















प्रतिक्रिया दिनुहोस्