चितवन पुगेर गगन थापा चेतावनी- सच्चिने अवसर आएको छ, दायाँबायाँ नगर्नु होला

काठमाडौं, बैशाख ४ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चितवनका पार्टी कार्यकर्तालाई यसपटक दायाँबायाँ नगर्न आग्रह गरेका छन् ।

सोमबार चितवनको कालिका नगरपालिकामा आयोजित उपचुनाव लक्षित सभामा बोल्दै महामन्त्री थापाले अघिल्लो चुनावमा जस्तो गल्ती नगर्न आग्रह गर्दै कांग्रेसका कार्यकर्तालाई दायाँबायाँ नगर्न आग्रह गरेका हुन् ।

थापाले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए । उनले भने- ‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास गर्ने मान्छे हुँ । मनमा जसको हरि छ,अरूले नदेखे पनि हरिले देखेको हुन्छ । बाहिर बाहिर रुख रुख भन्ने भित्र गएर तलमाथि गरे हरिले हिसाबकिताब गर्छन् भन्ने ठान्नुपर्छ ।’

यसअघि कांग्रेस कार्यकर्ताले पनि रवि लामिछानेलाई मतदान गरेकोतर्फ संकेत गर्दै महामन्त्री थापाले पाँच महिनाको अवधिमा सच्चिने मौका आएको उल्लेख गरे ।

उनले भने- ‘गएको ५ महिनालाई राम्रोसँग हेर्नुभएको छ। तपाईंले अब मान्छे चिन्नुभएको छ। तपाईँहरूले हिजो के गर्नुभयो, के कारणले गर्दा गर्नुभयो, किन गर्नुभयो भन्ने सबै कुरालाई बिर्सिएर म नेपाली कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु । पार्टीसँग, नेताहरूसँग तमाम असन्तुष्टि होलान्। यथोचित समयमा बसेर छलफल गरौंला तर अहिले पार्टी चुनावमा होमिएको बेला तलमाथि गर्ने छुट छैन ।’

वैशाख १० गते उपचुनाव हुने चितवन २ मा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्