प्रधानन्यायाधीश नियुक्त प्रक्रिया अघि बढाउन प्रमुख तीन दलबीच सहमति

काठमाडौं , बैशाख ४ । संवैधानिक परिषदको बैठक बसेर प्रधानन्यायाधीश नियुक्तीको प्रक्रिया अघि बढाउन प्रमुख तीन दल सहमत भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समय सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशका भरमा चलेको भन्दै प्रधानन्यायाधीश नियुक्ति गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्रीको उक्त प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति जनाएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

‘प्रधानन्यायधीश कार्यवाहक हुनुहुन्छ, यो स्थिति हुनुहुँदैन’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लेखकले सुनाए, ‘प्रधानमन्त्रीले यसमा विशेष पहल गर्नुभयो र प्रस्ताव गर्नुभयो । यसमा प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले सहमति जनाउनु भयो र यसमा सहमति भयो ।’

नेता लेखकले चाँडै प्रधानमन्त्रीले संवैधानिक परिषद बैठक बोलाउने र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने बताए । छलफलमा संसदीय समितिलाई पूर्णता दिने विषयमा पनि कुराकानी भएको एमाले सचेतक महेश वर्तौलाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्