देशभरको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने
काठमाडौं, बैशाख ४ । काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने भएको छ।
प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको ।
देशका केही ठाउँमा लामो समयदेखि पानी नपरेको र धेरै ठाउँमा डढेलो लागेकाले वायु प्रदूषण उच्च भएको महाशाखाले जनाएको छ।
यस्तै वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोबाट निस्किएको धुवाँसँगै पानी पानी नपर्नु र हावा कम चल्नाले प्रदूषण सतह नजिक थुप्रिएको बताए।
उनले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदूषण बढेको बताए। बारा, पर्सा र चितवनबाट बाग्मती कोरिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र बहन नसक्दा काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा बढेको बताए।
यसैबीच विज्ञहरूले प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन्। वायु प्रदूषण बढिरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ।
जलवायु तथा विपदविज्ञ डा. धर्म उप्रेतीले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने र अत्यावश्यक काम नभई घरबाट बाहिर निस्कन नहुने बताए। उनले प्रदूषण हट्न अझै केही दिन लाग्ने पनि बताए।
उनले केही दिनका लागि धुँवा निकाल्ने गाडी र मापदण्ड पालना नगरेका गाडी सञ्चालन गर्न नदिन सरकारसँग आग्रह गरे।















प्रतिक्रिया दिनुहोस्