परराष्ट्रमन्त्री बन्दै एनपी साउद, आठौं पटक मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौं , बैशाख ३ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्री बन्ने निश्चित भएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको हो ।

अरु मन्त्रीको टुंगो नलागेपनि साउदले आज दिउँसो ३ बजे शपथ ग्रहण गर्ने निश्चित भएको बताइन्छ । साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्नका लागि कांग्रेसले बालुवाटारमा पत्र समेत पठाइसकेको छ । सत्ता गठबन्धनमा भएको सहमति अनुसार नेपाली कांग्रेसले ८ वटा मन्त्रालय लिने समझदारी बनेको छ । जसमध्ये यसअघि कांग्रेसले ४ जना मन्त्री मात्रै सरकारमा पठाएको छ ।

पछिल्लो पटक गत फागुन १७ गते प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्