क्रिकेट रंगशाला ‘बहुउपयोगी’, स्पोर्टस् भिलेजको अवधारणामा निर्माण गरिने धुर्मुसको भनाई

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्ने रंगशाला ‘बहुउपयोगी’ प्रकृतिको हुने भएको छ ।

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने धेरैजसो इन्डोर तथा आउटडोर खेलहरु अटाउने गरी स्पोर्टस् भिलेजको अवधारणामा रंगशालाको निर्माण गरिने सिताराम कट्टेल धुर्मुसले बताएका छन् ।

उनका अनुसार रंगशालाको नाम भने लर्ड वुद्ध इन्टरनेसनल क्रिकेट स्टेडियम नै रहने छ ।

‘भलिबल, तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, स्वीमिङलगायत धेरै खेलहरुका लागि सुविधायुक्त रंगशाला हुनेछ,’ उनले भने, ‘साथै आउटडोर खेलहरु पनि समेट्नेछौं । मैदानको उपलब्धताका आधारमा सम्भवतः फुटबल ग्राउन्ड पनि हुनेछ ।’

क्रिकेटका साथसाथै सबै विधाका खेलकुदलाई सुविधायुक्त रंगशालाको दुख भएकाले यो निर्णय लिइएको धुर्मुसले बताए ।

धुर्मुसको टिमले रंगशाला कहाँ बनाउने भनेर निर्णय सार्वजनिक गरेको छैन । पछिल्लो पटक खेलकुद मन्त्रालयको सुझावमा धुर्मुसको टोली पोखरामा जग्गा हेरेर फर्किएको थियो । तर, पोखरामा अत्यधिक वर्षा भइरहने कारणले त्यहाँ क्रिकेट रंगशाला बनाउनु उपयुक्त नहुने धेरैले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्