दुई करोड घुस काण्ड: रास्वपामा उतारचढाव

काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड घुस मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेसँगै उनको सांसद पद गएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक जीवनमा आएको पछिल्लो उतारचढावपूर्ण घटना हो । आम रुपमा जुन चासोका साथ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई हेरिन्छ उस्तै गरी यो पार्टीको जीवन पनि उतारचढावपूर्ण देखिन्छ । ढाका कुमार श्रेष्ठ प्रकरण यो पार्टीको उतारचढावपूर्ण व्यवहार र घटनाको पछिल्लो उदाहरण हो ।

४ मंसिरमा चुनाव जितेका पार्टी सभापति रवि लामिछाने उपप्रधामन्त्री र गृहमन्त्रीको हैसियतमा सरकारमा सहभागी भएका थिए । नागरिकता विवादमा सांसद पद गएपछि लामिछानेले सत्ता पनि गुमाउन पुगे । सांसद पद र उपप्रधानसहित गृहमन्त्री गुमाएको पीडा सेलाउन नपाउँदै घुस मागेको आरोप लागेका रास्वपाका अर्का सांसद ढाका कुमार श्रेष्ठले पनि पद र प्रतिष्ठा दुवै गुमाए । ४ मंसिरको चुनावमा स्थापित दलहरुलाई प्रश्न गर्दै भोट मागेका रवि लामिछानेले ठूलो मतान्तरमा चुनाव जिते । नागरिकता विवादमा सांसद पद गयो र १० वैशाखमा हुन लागेको चुनावमा फेरि उम्मेदवार छन् । तर, यसबेला उनी अन्यलाई प्रश्न होइन, जनताको प्रश्नको सामना गरिरहेका छन् ।

‘जनवरीको अडियो अप्रिलमा प्रचार गरियो’

निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठ मन्त्री बन्न घुस मागेको अडियो सार्वजनिक भएपछि रक्षात्मक भएका छन् । आरोप अस्वीकार गर्दा गर्दै उनी बहकिएर स्वीकार गर्न पुगेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताए । माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । सो सम्बन्धमा पार्टी केन्द्रीय समितिको बैठक बसिरहेको बेला श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन् ।

‘यो अडियो केही पनि होइन, यो फसाइएको हो, सुनियोजित गरिएको हो । जनवरीमा भएको, लगभग जनवरी/ फेब्रुअरीमा भएको अहिले (अप्रिल) ल्याएर हाल्नु भनेको सुनियोजित किसिमले पार्टीलाई चारतिरबाट हान्ने प्रहार गरेको हो,’ उनले भनेका छन् ।

श्रेष्ठले आफू न्यायिक प्रक्रियामा गइसकेको बताएका छन् । उनले न्यायालयबाट क्लीनचिट ल्याएर आउने दाबी पनि गरेका छन् । आफ्नो कारणले गर्दा उपनिर्वाचनमा पार्टीलाई असहज परिस्थिति बनेको भन्दै उनले क्षमा मागेका छन् । उनले भनेका छन्, ‘मेरा कारणले उपनिर्वाचनमा पार्टीलाई अप्ठ्यारो परेको छ । त्यसका लागि क्षमाप्रार्थी छु ।’

नयाँ सांसद सिफारिस

रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेपछि उनको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ ।
बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा. श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ । सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।  कंसाकारलाई रास्वपाले २ महिनाअघि केन्द्रीय सदस्य मनोनित गरेको थियो । उनीमाथि १० वर्षअघि एसिड आक्रमण भएको थियो । उनीमाथि एसिड छ्याप्ने पुरुषलाई प्रहरीले घटना भएको ६ वर्षपछि पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्