मन्त्रिपरिषद् बैठकमा बालेनको आलोचना, फोहोर नउठाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं, चैत २८ । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको आलोचना भएको छ। सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट बालेन्द्र साह भाग्न नमिल्ने बताइन्।

उनले मन्त्रिपरिषद् बैठकमा बालेन्द्र साह अराजकतातिर गइरहेकोबारे छलफल भएको बताइन्। सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘फोहोर व्यवस्थापन नीतिगतरूपमा स्थानीय सरकारले गर्ने हो। सिंहदरवारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौं। उहाँ अराजकतातिर जानुभएको छ। मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ। कि त नीति परिमार्जन हुनुपर्‍यो। नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो।’

काठमाडौंका मेयर बालेन्द्रले केही दिनअघि सरकारले समन्वय नगरेको भन्दै सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए। उनले नेताहरूलाई सिस्डोलमा डम्प नगरेसम्म देश नसुध्रिनेसमेत बताएका थिए।

यस्तै सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्